Saturday, June 29, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. १० : मौद्रिक नीतिका सम्बन्धमा असम्भाब्य त्रिकोण (Impossible Trinity ) भन्नाले के बुझिन्छ ?

कुनै पनि अर्थतन्त्रले मौद्रिक नीतिको कार्यान्वयनका सम्बन्धमा अगाल्न सक्ने तीनवटा विकल्पहरु : नियन्त्रित विनिमय दर प्रणाली, स्वतन्त्र मौद्रिक नीति तथा स्वतन्त्र पुजी प्रवाह एकै साथ् प्राप्त गर्न नसकिने अवस्थालाई नै  Impossible Trinity भनिन्छ। यसलाई monetary policy trilemma पनि भनिन्छ। 

मानौ कि अर्थतन्त्रमा विनिमय दर नियन्त्रण छ र पुँजी प्रबाह स्वतन्त्र छ। यस्तो अवस्थामा केन्द्रीय बैंकले स्वतन्त्र रुपमा मौद्रिक नीति मार्फत ब्याजदर निर्धारण गर्ने कार्य गर्न सक्दैन किनकी उक्त अर्थतन्त्रको ब्याजदर अन्य देशको भन्दा कम भएमा पुँजी बाहिरिन गई बिदेशी मुद्राको अभाव हुन जान्छ र  स्वदेशी मुद्रा अवमुल्यन हुने सम्भावना रहन्छ। अर्को तर्फ ब्याजदर अन्य देशको भन्दा बढी भएमा पुँजी आप्रवाह भई मुद्रा अधिमुल्यन हुने सम्भावना रहन्छ। अत : विनिमय दर नियन्त्रण कायम राख्नका लागि ब्याजदरलाइ अन्य देश संग बराबर राख्न पर्ने बाध्यता रहन्छ। यस्तो अवस्थामा मौद्रिक नितीले स्वतन्त्र रुपमा ब्याजदर नियन्त्रण गर्न सक्दैन।   

तलको चित्रमा देखाय झैँ कुनै पनि अर्थतन्त्रले तीन वटा विकल्पहरु मध्ये  कुनै दुइवटा विकल्पहरु मात्रै छान्न सक्दछ :

Image result for impossible trinity

विकल्प A :
 यो विकल्पमा अर्थतन्त्रले मुद्राको विनिमय दर नियन्त्रण गर्ने तथा विभिन्न अर्थतन्त्रहरुबीच पूजीको प्रवाह स्वतन्त्र राख्न सक्दछ।  पूजीको प्रवाह यसरी  स्वतन्त्र राख्दा ब्याज दर भने नियन्त्रण गर्न सकिदैन। यस्तो अर्थतन्त्रमा अन्य अर्थतन्त्रकोको तुलनामा ब्याजदर न्युन राख्ने प्रयाश गर्दा पुँजी बहिर्गमन भई विदेशी मुद्राको अभाव हुन जाने तथा स्वदेशी मुद्राको अवमुल्यन हुने सम्भावना हुन्छ।  अर्कोतिर मुद्रास्फीति नियन्त्रण गर्न स्वदेशको ब्याजदर बिदेशमा भन्दा उच्च राख्ने प्रयाश गरेमा पुँजी आप्रवाह मार्फत विदेशी मुद्राको आपूर्ति अधिक हुन गई स्वदेशी मुद्रा अधिमुल्यन हुने सम्भावना रहन्छ ।  तसर्थ मौद्रिक नीतिले मुद्राको विनिमय दर स्थिर राख्ने लक्ष्य लिएको छ र पुँजी प्रवाह स्वतन्त्र छ भने ब्याजदर माथि नियन्त्रण गर्न सकिदैन ।   
उदाहरणका लागि मानौ कि नेपालको स्थिर विनिमय दर छ र पुँजी प्रवाह स्वतन्त्र छ।  यस्तो अवस्थामा नेपालको ब्याजदर विश्व बजार भन्दा कम भएमा मानिसहरुले नेपाली मुद्रा बेची यु.एस. डलरमा लगानी गर्ने प्रवृति रहन्छ।  फलस्वरूप, नेपाली मुद्राको माग घट्ने तथा डलरको माग बढ्ने भई नेपाली मुद्रा अवमुल्यन हुने सम्भावना रहनछ।  यस्तो अवस्थामा नेपालको ब्याजदर अन्य देशसंग बराबर राख्नुपर्ने बाध्यता सृजना हुन्छ ।  

विकल्प B  :
यस अन्तर्गत अर्थतन्त्रले  पूजीको स्वतन्त्र प्रवाह तथा ब्याजदर माथिको नियन्त्रण कायम राख्न सक्दछ।  स्वतन्त्र पुजी प्रवाहको अवस्थामा ब्याजदर माथि नियन्त्रण कायम राख्न पुजी आप्रवाह संगै विनिमय दर परिवर्तन हुन दिनु पर्ने हुन्छ। अन्यथा ब्याजदर माथिको नियन्त्रण कायम राख्न सकिदैन।उदाहरण को लागि मानौ कि नेपालमा स्वतन्त्र पुँजी प्रवाह छ र मौद्रिक नीतिले मुलुकको अवस्था हेरी स्वतन्त्र रुपमा ब्याजदर निर्धारण गर्ने काम गरिरहेको छ।  यस्तो अवस्थामा पुँजी आप्रवाह तथा बहिर्गमनका आधारमा विनिमय दर परिवर्तन हुन दिनु पर्ने हुन्छ।  जस्तै नेपालको ब्याजदर अन्य देशको भन्दा बढी निर्धारण गरिएको छ भने पुँजी आप्रवाह हुन जान्छ।  यस्तो अवस्थामा नेपालको मुद्रालाइ अधिमुल्यन हुन दिनुपर्ने हुन्छ। अन्यथा विनिमय दरमा पर्ने दवाब हटाउन नेपालको ब्याजदर विश्व बजार संग बराबर बनाउनुपर्ने हुन्छ।  
 
विकल्प C :
यो विकल्पमा अर्थतन्त्रले  विनिमयदर  तथा ब्याजदर माथिको नियन्त्रण कायम राख्न सक्दछ। तर पुजी प्रवाह स्वत्रन्त्र भएमा यो दुवै कुरामा एकैसाथ नियन्त्रण गर्न सकिदैन। मानौ कि नेपालमा नियन्त्रित विनिमय दर प्रणाली छ र मौद्रिक नीतिले स्वतन्त्र रुपमा ब्याजदर निर्धारण गर्न सक्दछ। यस्तो अवस्थामा पुँजी प्रवाह स्वतन्त्र गर्ने हो भने विनिमय दर माथिको नियन्त्रण कायम राख्न सकिदैन किनकी विश्व बजार भन्दा नेपालको ब्याजदर फरक पर्ने वित्तिकै पुँजी प्रवाह मार्फत विनिमय दरमा दवाब सिर्जना हुन्छ।    

सैदान्तिक रुपमा माथिका तीनवटा लक्ष्यहरु एकै साथ प्राप्त गर्न असम्भव देखियता पनि  विभिन्न मुलुकहरुले तिनवटै लक्ष्य हरुको मिश्रणको उपयोग गरिरहेका हुन्छन।  जस्तै नेपालको विनिमय दर भारतीय मुद्रासंग स्थिर भय पनि अन्य मुद्रा संग भने परिवर्तनशील छ।  त्यस्तै गरी नेपालमा FDI को रुपमा पुँजी आप्रवाह हुन सक्दछ तथा नेपालको मौद्रिक नीतिले केही हद सम्म मुद्रा आपूर्ति तथा ब्याजदर सम्बन्धी निर्णयहरु स्वतन्त्र रुपमा गर्न सक्दछ।
......................................................................................................................................................................




 





No comments: