Wednesday, July 17, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. १४ : अमेरिकन डलर र सुनको मुल्यको बीचमा किन उल्टो सम्बन्ध हुन्छ ?

सामान्यतया सुन तथा अमेरिकन डलरको मुल्यको बिचमा उल्टो सम्बन्ध रहने तर्क गरिन्छ।  ब्यवहारमा यस्तो सम्बन्ध सधैभरी रहेको नदेखिने भयता पनि सिद्धान्तत: यस्तो सम्बन्ध रहने तर्क दिन सकिन्छ।

विश्वभर नै सुन तथा अमेरिकन डलर लाई सम्पति संग्रह गर्नका लागि सुरक्षित साधन को रुपमा लिने गरिन्छ।  GOLD Standard पद्दतिमा अमेरिकन डलर सुनमा पूर्ण परिवर्त्य थियो।  तसर्थ जनमानसले सुन तथा अमेरिकन डलरलाई उत्तिकै सुरक्षित सम्पतिको स्वरुपको रुपमा लिने गर्दथे।  हाल GOLD Standard पद्दति नरहेता पनि मानिसहरुमा उक्त पद्दतिको मनोवैज्ञानिक प्रभाव भने रही नै रहेको छ अर्थात् आजकल पनि सुनलाई डलर जत्तिकै सुरक्षित सम्पतिको रुपमा लिने गरिन्छ।

यस्तो अवस्थामा अमेरिकन डलर बलियो हुदै जादा डलर संग्रह का लागि डलरको माग बढ्दै जाने र सुनको माग घट्दै जाने हुन्छ। डलरको माग बढ्दै जादा डलरको मूल्य झन् बढेर जान्छ भने सुनको मूल्य झन् घटेर जाने प्रवृति देखा पर्दछ। डलर र सुनको बीचमा देखा पर्ने यस्तो प्रतिस्थापन प्रभावका कारण डलरको संग्रह बढ्दै जाने तथा सुनको संग्रह घट्दै जाने हुन्छ।  फलस्वरूप डलरको मूल्य बढ्दै जाने तथा सुनको मूल्य घट्दै जाने स्थिति देखा पर्न सक्दछ।  यसको ठिक विपरित स्थितिमा डलर कम्जोर हुदै जादा सुनको मूल्य बढ्ने अवस्था देखा पर्न सक्दछ।

अमेरिकन डलर बलियो हुदै जादा सुनको मूल्यमा कमी आउने अर्को कारण भनेको हाम्रो देशको मुद्रा अन्य देशको मुद्राको तुलनामा कम दरमा अबमुल्यन हुने अवस्थाले गर्दा हो।  विश्वभरनै सुनको मूल्य अमेरिकन डलरमा ब्यक्त गर्ने गरिन्छ।  डलर बलियो हुदै जादा अमेरिकन डलरमा ब्यक्त सुनको मुल्यमा स्वत: कमी आउछ। अर्को मुलुकको मुद्रामा ब्यक्त सुनको मूल्यमा भने कमी नआउने वा थोरैले कमी आउने अवस्था हुन सक्दछ।  अमेरिकन डलर बलियो हुदै जादा हाम्रो मुद्रा त्यतिनै कमजोर भएर गयो भने नेपाली मुद्रामा ब्यक्त सुनको मुल्यमा कमी नआउने स्थिति  रहन्छ।  तर अमेरिकन डलरको तुलनामा हाम्रो मुद्रा कम दरमा अबमुल्यन भयो भने नेपाली मुद्रामा ब्यक्त सुनको मुल्यमा केही कमी आउन सक्ने अवस्था रहन्छ।

सिद्धान्तत: सुनको मूल्य तथा डलरको मुल्यका बीचमा उल्टो सम्बन्ध रहने देखियता पनि यी दुइ सम्पतिहरुको मूल्य संगसंगै बढ्ने तथा संगसंगै घट्ने अवस्था समेत देखा पर्न सक्दछ। यस्तो अवस्थाको पछाडी अमेरिकाको मौद्रिक नीति, अमेरिकाको आर्थिक वृद्धि तथा मुद्रास्फीति दर, तथा अन्य सम्पतिका स्वरुपहरु जस्तै घरजग्गा व्यवसाय, शेयर बजार आदिको अवस्था मुख्य कारक हुन सक्दछ।
.......................................................................................................................................................................  

No comments: